अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610

राशिफल

असोज ८ गते देखि १४ गतेसम्मको राशिफल
– रामप्रसाद सिटौला (फलित ज्योतिष)

आश्विन ७, २०७२-

मेष
प्रतिस्पर्धीहरूले काम बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमा हुनेछ । अध्ययनको क्षेत्रमा देखा परेको अलमलको अवस्था अन्त्य हुनेछ । उच्च शिक्षाका लागि चुनिएको विषयले भविष्यको सही बाटो देखाउनेछ । आफ्ना सामु देखा परेका चुनौतीको सामना सजिलैसँग गर्न सकिनेछ । सेतो रंगको प्रयोगले दैनिकीलाई सहज बनाउनेछ । बुधबारपछिका दिनहरू जटिल हुनसक्छन् ।

वृष
मनमा उत्पन्न सकारात्मक विचारले प्राविधिक क्षेत्रतर्फ डोर्‍याउने सम्भावना छ । सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी लाभ लिन सकिनेछ । सामाजिक क्षेत्रमा पहिचान स्थापित हुने सम्भावना देखिन्छ । अभिभावकहरूसँग विचार नमिल्दा केही मनमुटाव देखा पर्न सक्छ । परिवारप्रति जिम्मेवारी बोध गर्दै कार्यक्षेत्रमा खटिँदा सफलता प्राप्त हुनेछ ।

मिथुन
सोचेजस्तै सफलता हात पार्न थप मेहनत गर्नुपर्नेछ । प्रेमी वा प्रेमिकासँगको खटपटले भविष्यको योजनालाई अप्ठ्यारोमा पार्न सक्छ । अभिभावकको सुझावलाई आत्मसात् गरेर अघि बढ्दा आर्थिक संकट निवारण हुनसक्छ । अर्काको देखासिकी गरेर आफ्नो हैसियत र क्षमता बिर्संदा संकटमा पर्न सकिन्छ । कालो रंगको सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु होला ।

कर्कट
सहयोगीहरूको प्रस्ताव स्वीकार गर्दा त्यसले दीर्घकालीन रूपमा फाइदा पुर्‍याउनेछ । सुझावले आफूलाई सही बाटो देखाउनेछ । तपाईंले गर्ने जुनसुकै काम परिणाममुखी हुनेछ । प्रतियोगितात्मक कार्यक्रममा सम्मानित हुने योग पनि छ । मित्रहरूले तपाईंको नयाँ योजनालाई सकारात्मक रुपमा लिने छन् । मनोरञ्जक कार्यमा भाग लिँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह
मेहनत तथा लगनशीलताले प्रशंसा पाउनेछ । विवेक नपुर्‍याई हतारमा गरिएका कामले हानि पुर्‍याउन सक्छ । पारिवारिक गुनासो बढ्न सक्छ । काम सँगै घर–व्यवहारमा सन्तुलन ल्याउने प्रयास गर्नुहोला । सामान्य खटपट भए पनि व्यवसायिक क्षेत्रमा गरिएको निर्णयले पारिवारिक अनुमोदन पाउने छन् । सुनौलो रंगले कार्य क्षेत्रमा थप ऊर्जा प्रदान गर्नेछ ।

कन्या
गहिरो अध्ययनले ज्ञानको दायरालाई फराकिलो बनाउन सहयोग गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतन ल्याउनुपर्ने देखिन्छ । पारिवारिक भेटघाटले मांगलिक कार्यतर्फ उत्प्रेरित गर्नेछ । आम्दानी रामै्र रहे पनि फजुल खर्चका कारण आर्थिक संकट देखा पर्न सक्छ । आफ्नो संयम र प्रभावका कारण बिग्रन लागेका कतिपय कामले सफलताको बाटो पछ्याउने छन् ।

तुला
नयाँ मित्रसँगको संगतले नयाँ प्रेम अंकुरित हुनसक्छ । आर्थिक क्षेत्रमा गरिएका प्रयत्नले लक्ष्यमा पुग्ने बाटो देखाउनेछ । मान्यजनको सुझावलाई आत्मसात् गर्दा जीवनले सकारात्मक ऊर्जा प्राप्त गर्ने देखिन्छ । भविष्यका निम्ति दिगो जग बसाउने बेला आएको छ । छोटो समयमै घनिष्ट हुन खोज्नेहरूसँग सचेत रहनुपर्ला ।

वृश्चिक
लामो तथा छोटा दूरीको खर्चिलो यात्रा हुनसक्छ । टाढा रहेका साथीभाइसँग भेटघाट हुने सम्भावना छ । प्रेमी वा प्रेमिकाको भावना बुझ्न सकियो भने त्यसले दीर्घकालमा लाभान्वित तुल्याउनेछ । खरानी वा खैरो रंग प्रयोग गर्दा कतिपय काम फत्ते हुनेछन् । भोजभतेरमा सहभागी हुने योग पनि छ । साताको अन्त्यमा स्वास्थ्यमा असहजता महसुस हुने देखिन्छ ।

धनु
आम्दानीको दिगो स्रोत फेला पर्नेछ । आफ्ना लागि सवारी साधन खरिद गर्ने योजना बनाउनुभएको छ भने प्रक्रिया अघि बढाउनु फलदायी हुन्छ । तपाईंको प्रतिष्ठासँग जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौती देखा पर्न सक्छ, सावधान रहनुहोला । समय बलवान् छ । मनोरञ्जनका क्रममा भेटिएमा मित्रहरूले तपाईंबाट अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् ।

मकर
प्रेमको जाल रच्नेहरूले झुक्याउने प्रयत्न गर्नेछन् । आफ्नै बलबुतामा आइलागेको जटिल परिस्थितिको सामना गर्नुपर्नेछ । कसैको साथ खोज्नु आफ्नो हितमा हुनेछैन । भोजभतेरमै अल्झिँदा महत्त्वपूर्ण समय र व्यापार–व्यवसायसमेत चौपट हुनसक्छ । स्थितिलाई सावधानीका साथ व्यवस्थापन गर्न सके समय आफ्नो पक्षमा रहनेछ । नयाँ अवसरका निम्ति प्रतिस्पर्धा गर्नु्पर्ने देखिन्छ ।

कुम्भ
विरोधीहरूलाई आफूतर्फ आर्कषित गर्न सकियो भने आफ्नो व्यक्तित्वले नयाँ उचाइ प्राप्त गर्नेछ । प्रेमी वा प्रेमिकाबाट नसोचेको उपहार प्राप्त हुँदा मन हर्षित हुनेछ । नीलो रंगको प्रयोगले नयाँ ऊर्जा प्रदान गर्नेछ । विगतमा भएका गल्तीहरू सच्याउँदै अघि बढ्ने समय आएको छ । यात्रामा गरिने अनावश्यक खर्चले मानसिक तनाव सिर्जना गर्न सक्छ ।

मीन
पारिवारिक विरोधका बाबजुद प्रेमजीवनले ठोस निर्णयको अपेक्षा गरेको छ । त्यही निर्णयले नै आफ्नो जीवनलाई निर्धारित गर्नेछ । मंगलबारपछि आर्थिक समस्याबाट पार पाइने सम्भावना छ । साथीभाइले पनि सहयोग गर्ने तत्परता देखाउनेछन् । नयाँ अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ने देखिन्छ । परिस्थितिलाई बेवास्ता गरियो भने त्यसले थप संकट निम्त्याउन सक्छ ।

amzn-gc_300x250