अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
NC Leader Khumbahadur Khadka

जहाँ लगभग ९४ % हिन्दु छन् त्यहाँ धर्मनिरपेक्ष हुनु हिन्दुहरुको अपमान हो : खुमबहादुर खड्का


यो देशमा धेरै ठुला नेताहरु भ्रष्ट्राचारी छन् भन्नेमा शंका छैन तर सर्वोच्च अदालतबाट भ्रष्ट्राचारी प्रमाणित भएका ठुला नेताहरु चाहिं औंलामा गन्न सकिने मात्र छन् | तिनै मध्यका एक हुन् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का | तर तिनै खड्कालाई कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय समितिमा दोश्रो ठुलो उच्च मत दिएर बिजयी बनाएका छन् | देशको कानुनले उनलाई राज्यकोष बाट सुबिधा प्राप्त हुने कुनै पनि ओहोदामा बस्न दिंदैन | तर, प्रमाणित भ्रष्टाचारीलाई ओहोदा हाँसिल गर्न बाट रोक्ने नेपाली कांग्रेसमा कुनै नियम छैन | बिबिसि नेपाली सेवाको को नेपाल सन्दर्भ कार्यक्रममा पत्रकार रबिन्द्र मिश्रले खुमबहादुर खड्का संग लिएको अन्तर्वार्ता :

-तपाइँजस्तो भ्रष्ट्राचारी प्रमाणित व्यक्तिले पार्टीमा के योगदान पुर्याउनु हुन्छ ?
० पार्टीमा त मैले अहिले बाट मात्रै हैन धेरै पहिले देखि नै गरिराछु | केटाकेटि देखिनै गर्न ला हो |अहिले झन् मेरो जिम्मेवारी ज्यादा बढेको छ, त्यसकारणले आफ्ना एजेण्डा जे छन् त्यो पार्टीको सेन्ट्रल कमिटिमा राख्छु |

-जस्तो तपाईंको एजेण्डा भन्नाले ?
० हिन्दुको एजेण्डा |

-देशलाई फेरी हिन्दु राष्ट्रमा फर्काउने एजेण्डा ?
० हजुर |

-त्यसको लागि त अब फेरी तपाईंको जस्तो मत भएकाहरुको बहुमत हुनु पर्ला नि त ?
० हैन, यो सेन्ट्रल कमिटीले निर्णय गर्दैन यो हाम्रो महासमितिले गर्छ | महासमितिले पास गर्यो भने महाधिवेशन बोलाउनु पर्ने पनि आवश्यकता हुन सक्छ | अहिले पार्टीको चुनाव भएको हुनाले यसमा हामीले कुरा नउठाएको हो किन बितण्डा गर्ने भनेर | अब हामि सेन्ट्रल कमिटीमा कुरा राख्छौ, कमिटीमा जे हुन्छ त्यसपछि हामि महासमितिमा जानुपर्ने हुन्छ | महासमिति यो ‘स्ट्रोंग’ रुपले आउछ र यस बिषयमा भोटिंग गराउनु पर्छ |

-अनि त्यसपछि तपाइँहरुले भने जस्तो भयो भनेदेखि फेरी संबिधान संसोधनै गर्नु पर्ने हुन्छ फेरी ?
० अँ, गर्नु पर्छ | संबिधानमा त संसोधनको प्राबधान नै छ नि |

- अरु पार्टीहरुले पनि त मान्नु पर्यो नि संबिधान संसोधन गर्न, हैन र ?
० मान्नु पर्छ, जनताको म्यान्डेट थोपरिएको हो | यो संबिधान जबर्जस्ती माथिबाट लादिएको हो, यसमा जनताको म्यान्डेट छैन |त्यसकारण हाम्रो (म लगायत अरु हिन्दुवादीहरुको) माग के छ भने जनताको माझ जाउँ, जनमत संग्रहमा जाउँ जनताले जे निर्णय गर्छन त्यो कुरा स्वीकार गरौँ भन्ने हो |

-त्यसो त अब कैयौं मान्छेहरुले गणतन्त्र र संघियता पनि थोपरिएको भन्छन नि ?
० कैयौ मान्छेहरुले भन्छन भने त्यसलाई जनमत बाट टुंगो लगाउनु पर्छ कि पर्दैन ? संघियताको बिषयमा त्यत्रो विवाद छैन, होला फाट्टफुट्ट त्यसकारणले यो हिन्दुत्वको बिषयमा ठुलो विवाद छ, यो थोपरिएको कुरा हो किनभने हाम्रो पार्टीमा कुनै निकायमा यसको निर्णय भएको छैन | त्यसकारण यसलाई पार्टी भित्रबाट छलफल गरेर पार्टीबाट एउटा निर्णय गरेर टुंगोमा पुग्नु पर्छ भने मेरो मान्यता हो |

-तपाईंले धर्मनिरपेक्षता माथि प्रश्न उठाउनु भयो, त्यसमा संबिधान संसोधन गर्ने भनेर भन्नु भयो अनि गणतन्त्र, संघियता पनि गर्नुपर्छ भन्ने त निस्किन्छन होला नि ? तपाइँकै पार्टी भित्र छन् अनि तपाइँले नै बेला बेलामा गणतन्त्र र संघियताको बिरोधमा बोल्नु भाको छ |

० हैन म संघियताको पक्षपाती होइन | मैले भन्या थिए नि यसले जातीयताको कुरा निम्त्याउछ, देशलाई बिखन्डन गर्ने तिर लाग्छ त्यसकारणले संघियतामा जानु हुदैन, हाम्रो तिन करोड जनसंख्या नपुगेको देशलाई के को संघियता ? भनेर प्रश्न उठाएको थिएँ | तर पार्टीले संघियताको पक्षमा निर्णय गर्यो जसलाई मैले स्वीकार गरेको छु | तर, आज देखि राखेको छ नि त त्यसको परिणाम…देश के भै राखेको छ आज ? संघियताको कारणले देश अस्थिर भैराखेको छ |

- अनि गणतन्त्र पनि त्यस्तै हो ?
० हैन, गणतन्त्र प्रति मेरो समर्थन छ |

-हिन्दु राष्ट्र बनाउने भनेपछी त फेरी गणतन्त्रको कुरा पनि उठ्छ नि किनभने हिन्दु राष्ट्रमा त फेरी राजाको भूमिका त प्रधान नै हुन्छ |
० हैन कुरा यस्तो हो; मुस्लिम राष्ट्र जो छन्, त्यहाँ के राजानै छन् त सबै ठाउँमा ? के क्रिस्चियन भएको सबै ठाउँमा राजानै छन् र ? जहाँ लगभग ९४ % हामि हिन्दु छौं त्यहाँ धर्मनिरपेक्ष हुनु हिन्दुहरुको अपमान हो | नेपालका हामि नेपाली हिन्दुहरुको अपमान गरेका छन् नेताहरुले यसलाई सुधार्नु पर्छ भन्ने मेरो मान्यता हो |

-खुमबहादुर जी तपाईं सर्वोच्च अदालतबाट प्रमाणित भ्रष्ट्रचारी, यत्रो मतदाताहरुले तपाईं भ्रष्टाचारीलाई झन्डै सबैभन्दा उच्च मत दिएर जिताए भने देशमा भ्रष्टाचारी चाही कसरि नियन्त्रण गर्ने भन्नु त ?
० मेरो दाङका साथिहरु एमालेका हुन् चाहे एमाओवादीका हुन् या राप्रपाका हुन् चाहे कांग्रेसका हुन् मेरो दाङको घर २०४८ साल भन्दा पहिले बनेको थियो | शेरबहादुर जी लाई सोध्नुस, रामचन्द्र जीलाई सोध्नुस हाम्रै पार्टीका नेताहरुलाई सोध्नुस मेरो घर गएर बस्नु भएको छ कि छैन वहाँहरु ? त्यसकारणले के छ भने अब त्यो मेरो दाङको घर २०५४ सालमा बनाएको हो भनेर न्यायाधिसले बोल्नु भयो, अख्तियारले म माथि दावीनै नगरेको कुरामा सर्वोच्च अदालत बोल्न मिल्छ कि मिल्दैन ? बादीले दावी नगर्य्या कुरामा बोल्न मिल्छ कि मिल्दैन ? यस्ता धेरै कुरा हरु छन् | भ्रष्ट्राचारी भए पनि कानुनको राज्य हुनु पर्छ भन्ने मान्छे म, मेरो बिरोधमा फैसला आयो त्यसलाई सिरोधार्य गरेर म जेल पनि बसी सके जुन नेपाली कांग्रेसका कार्यकर्ता मात्र होइन भोलि म चुनाव लंडे भने हेर्नुहोला म जित्छु कि जित्दीन |

-नेपाली राजनीतिको विडम्बना नै यहि त हो नि होइन र ?
ओ होइन, होइन …तपाईंले गलत बुझ्नु भयो | चुनावमा जातिले जित्या छन् ति सबै चाहिं वारेन्ट लि सकेका छन् र ?

-तर यो अलि चिन्ताजनक कुरा भो नि लोकतन्त्रमा सर्बोच्च अदालतले फैसलालाई मान्नेनै हो, तपाईंले पनि माने भनि सक्नु भएको छ त्यो अनुसार तपाइँ भ्रष्ट्राचारीनै हो भने भ्रष्ट्राचारीलाइ उच्च मत दिएर जिताईदिए पछी अनि समस्या हुन्न त ?
० सर्वोच्च अदालतले मेरो निर्णय गर्यो र त्यो मैले स्वीकार गरे भनेर पहिलेनै भनि सके | मैले भने नि मेरो जिल्लामा जानु न, जिल्लामा हेर्नुस…क्षेत्र, गाउँमा हेर्नुस त्यहाका मान्छेले के भन्छन |

- तपाइंले पार्टीको लागि भ्रष्ट्राचार गरेको भन्ने पनि छ नि ?
० कसैले खुमबहादुर जी ले पैसा खायो भन्ने मान्छे देखाई दिनुस त …कुन माईका लाल रैछ भन्ने |

-खुमबहादुर पुर्व राजा ज्ञानेन्द्रको नजिक पनि हुनुहुन्छ र अहिले हिन्दु राष्ट्रको मात्रै कुरा उठी राखेको छ, तर पछी चाहिं राजतन्त्रको पनि कुरा उठाउछन पनि भन्छन नि ?
० त्यो गलत कुरा हो | सबभन्दा पहिला, म गृहमन्त्री भाको बेला जतिबेला सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो माओवादीको आन्दोलन सुरु भैराखेको थियो | त्यसबेला मैले नै गणतन्त्र जानु पर्छ कि..बेला भो कि…..हामीले सधै राजतन्त्रलाई, राजालाई मान्दै आएऔ तर दरबारियाहरुले सधै हामीलाई कांग्रेसलाई समाप्त गर्न खोजे त्यसैले अब राजतन्त्र अन्त्य गर्ने बेला भयो कि भनेर मैले नै प्रस्ताव राखेको थिएँ | हाम्रो पार्टी भित्र निकै छलफल अनि झगडा पनि भयो | एउटा ध्रुब सत्य कुरा के हो भने जसबेला यो निर्णय हुँदै थियो राजसंस्थाको अस्तित्वको बिषयमा त्यसबेला सेरेमोनियल किंग गिरिजाबाबुले भन्दै हुनुन्थ्यो त्यतिबेला मैले नै राजसंस्था राख्यो भने पछी कन्ट्रोल गर्ने कोहि हुदैन भनेको थिए |

-तपाईंले अहिले शेरबहादुर देउवालाई साथ दिनु भयो तर उनि त गणतन्त्र, धर्म निरपेक्षता अनि संघियता लागु गर्नु पर्छ, यहि संबिधानलाई कार्यन्वयन गर्नु पर्छ भनेर भनि राखेका छन्, मत बाझियो नि त ?
० पार्टी भित्र सबैको विचार एक हुन्छ भन्ने छैन नि | कमल थापा राजतन्त्र, हिन्दु राष्ट्र भन्दै हुनुहुन्छ तर अहिले कट्टर कम्युनिष्ट संग मिलेर गै राख्नु भएको छ |

-अब नेपाली राजनीतिले कुन बाटो लेला खुमबहादुर जी ?
० मैले अहिले त्यो बिषयमा केहि भन्न सक्दिन | म अहिले बिरामी छु, घरबाट बाहिर निस्केको छैन, खालि भोट हाल्न गएको थिए त्यो बाहेक कतै जान सकेको छैन, सिनियर साथीहरु संग छलफल भाको छैन त्यसकारणले मैले अहिले केहि भन्न सक्दिन |