अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
proxy

तीस वर्षदेखि निरन्तर जाँतो बनाउँदै गनबहादुर

माघ,१६,आइतबार

पाल्पा, १६ माघ । रामपुर नगरपालिका– १ ठूलो बेसीका ६२ वर्षीय गनबहादुर दमैले जाँतो बनाउन थालेको ३० वर्ष बित्यो । ‘जति उमेर ढल्क्यो उति जवानी चढ्यो’ भनेझै गनबहादुरलाई यो उमेरसम्म आइसक्दा पनि जाँतो बनाउने काममा निकै फूर्तिलो र हँसिलो मुद्रामा देख्न सकिन्छ । बिहान उठ्यो रात नपरुन्जेलसम्म ढुङ्गालाई कलात्मक तरिकाले कुदेर जाँतो बनाउने गर्दैमा उहाँलाई ठिक्क छ ।

आफ्नो युवावस्थाको जोस–जाँगर र परिश्रमलाई उहाँले जाँतो बनाउने काममा नै समर्पण गर्नुभयो ।

कालीगण्डकी नदीको किनारका ढुङ्गालाई छिनो र घनको सहायताले जाँतोको रुप दिँदै गर्दाको अवस्थामा भेटिनुभएका गनबहादुरको जोस–जाँगर र परिश्रम उमेर ढल्केपनि युवावस्थाको भन्दा कम देखिएन । उहाँले घर नजिकै रहेका खोला, नदीका किनारमा ढुङ्गा खोजेर कलात्मक शैलीमा कँुदेर जाँतो बनाउने गर्नुहुन्छ ।

हेर्दा आकर्षक र टिकाउ हुने भएपछि हिजोआज ग्राहक घरमै आएर जाँतो बनाउन अर्डर दिने गरेको गनबहादुरको भनाइ छ । “एक महिनामा पाँचवटा जाँतो बनाउने गरेको छु”—“जाँतोको माग बढ्दो तर निर्माण भने कम हुँदा सबैलाई पु¥याउन गाह्रो परेको छ” उहाँले भन्नुभयो ।

एउटा जाँतो रु तीन हजारदेखि तीन हजार ५०० सम्ममा बिक्री हुने गरेको गनबहादुरले बताउनुभयो । पाँच जनाको परिवार जाँतो बनाएर लालनपालन गर्दै आएको छु फुसर्द भएको बखत सिकर्मी, डकर्मी, सूचीकार, डोको नाम्लो बनाउने काम पनि गर्दछु भन्नुहुन्छ उहाँ ।

गनबहादुरले ढुङ्गालाई कुँदेर बनाएको जाँतो राम्रो र टिकाउ भएकाले गाउँमा यस्को माग बढेको हो । आधुनिक मिलको पहुँच नपुगेका गाउँमा जाँतोको माग अत्यधिक बढ्दो रहेको उहाँले बताउनुभयो । मकै, चामल, गेडागुडीजन्य वस्तु पिस्नका लागि गाउँघरमा पुर्खौदेखि जाँतोको प्रयोग हुँदै अएको छ । आधुनिक मिल र परम्परागत जाँतोमा पिसेको स्वादमा धेरै फरक हुने भएकाले गाउँमा कतिपयले अझैपनि जाँतोको प्रयोग गरिरहेको स्थानीय दानस मल्लले बताउनुभयो ।

पछिल्लो समय जाँतो बनाउने मान्छे कम हुनु र आधुनिक मिल गाउँघरमा प्रयोग हुन थालेपछि भने जाँतोको प्रयोग कम हुँदै गएको छ । सहर नजिकैका गाउँमा जाँतोको प्रयोग हटिसके पनि सहरदेखि टाढा र दुर्गम भेगका केही गाउँमा अझैपनि जाँतोको प्रयोग हुँदै आएको छ । रासस