अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Myagdi district location

नाचगान गरेर जुटाएको नगद विद्युतीकरणमा

माघ,१७,सोमबार

बाबियाचौर (म्याग्दी), १७ माघ । म्याग्दीको बिमका बासिन्दाले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् ।

बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर सङ्कलन गरेको रकम विद्युतीकरण योजनालाई उपलब्ध गराएका हुन् । चार वटा वडामा रहेका आमा समूह, पुख्र्यौली समूह र युवा क्लबले रु सात लाख सहयोग गरेका विद्युतीकरण उपभोक्ता समितिका सदस्य वुद्धिबहादुर जुक्जालीले जानकारी दिए ।

सदस्य जुक्जालीका अनुसार स्थानीय सङ्घ संस्थाले गाउँमा लाहुरे स्वागत, विभिन्न सभा समारोह र सार्वजनिक कार्यक्रममा नृत्य देखाएर सङ्कलन भएको रकम विद्युतीकरण उपभोक्ता समितिलाई उपलब्ध गराएका हुन् । बिममा विदेशबाट घर आएका प्रवासीलाई नृत्य देखाएर स्वागत गर्ने चलन रहेको छ ।

स्थानीय सङ्घ संस्थाको सहयोगको अलावा विद्युतीकरण योजनाका लागि १९२ घरधुरीबाट प्रतिघरधुरी रु १० हजारका दरले नगद सङ्कलन गरिएको छ । सरकारी निकायको बजेट कुर्दा ढिलाइ हुने र पर्याप्त सहयोग नपाउने भएकाले स्थानीयस्तरमै आर्थिक सङ्कलन गरेर विद्युतीकरण गर्ने तयारी गरिएको हो ।

यस वर्ष जिविसले रु छ लाख ५० हजार बजेट विनियोजन गरेको बिम विद्युतीकरण योजनाअन्तर्गत पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गर्ने काम सकिएको छ ।

पहिलो चरणमा चार वटा वडाका करिब २०० घरमा यसै महिनाभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रेशम जुक्जालीले बताए ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको प्राविधिक सहयोगमा बिममा विद्युतीकरण योजना सञ्चालन भएको हो । त्यहाँका बासिन्दाले हाल उज्यालोका लागि सोलार प्रयोग गर्दै आएका छन् ।

दोस्रो चरणमा डाँडागाउँ, बाइन्दफाटलगायतका बस्तीमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् लाइन विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष जुक्जालीले बताए ।
रासस